१३ वर्ष (वा तपाईंको देशको कानुनले तोकेको उमेर) मुनिका बालबालिकाका अभिभावकका लागि Family Link को खुलासा

Family Link मार्फत व्यवस्थापन गरिएका १३ वर्ष (वा तपाईंको देशको कानुनले तोकेको उमेर) मुनिका बालबालिकाका Google खाता तथा प्रोफाइलको गोपनीयतासम्बन्धी सूचना (“गोपनीयतासम्बन्धी सूचना”) हेर्नुहोस्

अभिभावकहरूलाई स्वागत छ!

हामी तपाईंको विश्वास जितिरहन चाहन्छौँ। तपाईंका बच्चालाई Google खाता प्रयोग गर्न दिनु भनेको महत्त्वपूर्ण निर्णय हो। थप जान्नका लागि केही समय निकालेर यो महत्त्वपूर्ण जानकारी पढ्नुहोस्।

तपाईंका बच्चाको Google खाता

तपाईंका बच्चाको Google खाता तपाईंको जस्तै हो र उक्त खाता प्रयोग गरी बालबालिकाका लागि नबनाइएका वा उनीहरूको आवश्यकता अनुकूल नपारिएका सेवालगायतका Google का थुप्रै उत्पादन तथा सेवाहरू प्रयोग गर्न सकिन्छ। तपाईंका बच्चा आफ्नो खाता प्रयोग गरेर निम्नलगायतका कार्यहरू गर्न सक्छन्:

  • Google एसिस्टेन्ट, Chrome, Search र जेनेरेटिभ AI का अन्य सुविधाहरू प्रयोग गरी प्रश्नहरू सोध्न, इन्टरनेट चलाउन र विभिन्न कुरा खोज्न;

  • Gmail, SMS, भिडियो कल वा म्यासेज, भ्वाइस कल वा म्यासेज र सञ्चारका अन्य विधिहरूको प्रयोग गरी अरू मान्छेहरूसँग सम्पर्क गर्न;

  • एप, गेम, सङ्गीत, चलचित्र र अन्य कुराहरू डाउनलोड गर्न, खरिद गर्न र तिनको आनन्द लिन;

  • फोटो, भिडियो, प्रेजेन्टेसन, डकुमेन्ट र अन्य सामग्री बनाउन, हेर्न र सेयर गर्न;

  • Google Fit प्रयोग गरी शारीरिक क्रियाकलापको स्तर र हृदयको गतिलगायतका स्वास्थ्य र तन्दुरुस्तीसम्बन्धी जानकारीको रेकर्ड राख्न (यो कुरा तपाईंको बच्चाको डिभाइसमा भर पर्छ);

  • Google का सेवाहरू प्रयोग गर्दा सान्दर्भिक विज्ञापनहरू हेर्न।

Family Link तथा अभिभावकीय सुपरिवेक्षण

Google को Family Link एप तपाईंलाई आधारभूत नियमहरू तय गर्न र तपाईंका बच्चाले इन्टरनेट चलाउँदा उहाँलाई मार्गदर्शन गर्न सघाउने उद्देश्यले बनाइएको हो। तपाईंका बच्चा तपाईंको Google पारिवारिक समूहको सदस्य बन्नु हुने छ। तपाईं यो Google पारिवारिक समूहका सहायताले आफ्ना बच्चा र परिवारका बढीमा अन्य चार जना सदस्यसँग मिलेर Google का सेवाहरू प्रयोग गर्न सक्नुहुन्छ। तपाईंको पारिवारिक समूहमा भएका अभिभावकहरू तपाईंका बच्चाको खाता सुपरिवेक्षण गर्न र Family Link प्रयोग गरी निम्नलगायतका कार्यहरू गर्न सक्नुहुन्छ:

  • आफ्ना बच्चाका Android वा ChromeOS डिभाइसहरूमा स्क्रिन टाइमको सीमा तोक्न;

  • आफ्ना बच्चाको साइन इन गरिएका तथा सक्रिय अवस्थामा रहेका Android डिभाइसहरूको लोकेसन हेर्न;

  • आफ्ना बच्चाले Google Play मार्फत गर्ने डाउनलोड र खरिदहरू स्वीकृत गर्नुहोस् वा कन्टेन्ट उमेर सुहाउँदो छ कि छैन भन्ने कुराको मूल्याङ्कनका आधारमा सीमित कन्टेन्ट मात्र हेर्न मिल्ने गरी सेटिङ तय गर्न;

  • आफ्ना बच्चालाई उहाँको Google Account मा कस्ता प्रकारका क्रियाकलाप सेभ गर्न सकिन्छ र उहाँलाई पर्सनलाइज गरिएका सुविधा प्रदान गर्न ती क्रियाकलापसम्बन्धी डेटा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा बुझाउन;

  • Google Search को SafeSearch जस्ता सेटिङ व्यवस्थापन गर्न;

  • आफ्ना बच्चाको Android तथा ChromeOS डिभाइसमा रहेका एपलाई माइक्रोफोन, क्यामेरा र कन्ट्याक्ट प्रयोग गर्ने वा हेर्नेलगायतका कार्यहरू गर्न दिइएको अनुमतिको समीक्षा गर्न;

  • YouTube र YouTube Kids लगायतका YouTube का सुविधाहरूका हकमा कन्टेन्ट, एक्सेस र अन्य सेटिङ बदल्नुहोस्।

तपाईंले Family Link को "अभिभावकीय नियन्त्रणहरू" नामक सुविधाका सहायताले आफ्ना बच्चाले प्रयोग गर्ने सुविधाहरू सुपरिवेक्षण तथा व्यवस्थापन गर्न सक्ने भए तापनि तपाईंले निम्न कुराहरू याद राख्नु पर्ने हुन्छ:

  • Family Link का अभिभावकीय नियन्त्रणसम्बन्धी थुप्रै सुविधाहरू वेब संस्करणमार्फत व्यवस्थापन गर्न सकिने भए तापनि स्क्रिन टाइमको सीमा तोक्ने सुविधालगायतका केही सुविधाहरू व्यवस्थापन गर्न भने तपाईंले Android वा iOS डिभाइसमा Family Link एप इन्स्टल गर्नु पर्ने हुन्छ।

  • SafeSearch, Chrome ले वेबसाइटमाथि लगाउने प्रतिबन्ध र Play स्टोरका फिल्टरलगायतका सेटिङ प्रयोग गरी अनुपयुक्त सामग्रीको एक्सेस सीमित गर्न सकिन्छ तर यी सेटिङले पूर्ण रूपमा काम नगर्न सक्छन्। जेनेरेटिभ AI सुविधाहरूले गलत जानकारी दिन वा प्रश्नहरू गलत रूपमा बुझ्न सक्छन्। त्यसैले तपाईंले आफ्ना बच्चालाई विश्वसनीय स्रोतहरू प्रयोग गरी जानकारी पुष्टि गर्न सम्झाउनु राम्रो हुन्छ। यी कन्ट्रोलहरू अन हुँदा पनि तपाईंका बच्चाले तपाईंले उहाँले नहेरून् भन्ने चाहेका सामग्री हेर्न सक्ने सम्भावना हुन्छ।

  • तपाईंका बच्चाले यसअघि नै अनुमोदन गरिएको कुनै एप वा अन्य सामग्री फेरि डाउनलोड गर्दा, कुनै एपसम्बन्धी अपडेट (उक्त अपडेटमा नयाँ सामग्री थपिएको वा अतिरिक्त डेटा वा अनुमति मागिएको भए तापनि) इन्स्टल गर्दा वा तपाईंको Google Play पारिवारिक लाइब्रेरीमा रहेका साझा सामग्री डाउनलोड गर्दा अभिभावकको अनुमति चाहिँदैन।

  • Family Link का केही सुविधा सीमित रूपमा मात्र उपलब्ध हुन्छन् र विशेष सेटिङ तथा परिवेशमा मात्र ती सुविधा प्रयोग गर्न मिल्छ। जस्तै, तपाईंका बच्चाले कम्प्याटिबल Android वा ChromeOS डिभाइसबाट साइन इन गरेका अवस्थामा मात्र एपहरू ब्लक गर्न सकिन्छ र उहाँको Android डिभाइस अन गरेर इन्टरनेटमा कनेक्ट गरिएको अवस्थामा मात्र Family Link एपमार्फत उक्त डिभाइसको लोकेसन हेर्न सकिन्छ।

तपाईंका बच्चा १३ वर्ष (यो उमेर देशअनुसार फरक हुन सक्छ) को भएपछि उहाँ तपाईंको सुपरिवेक्षणविना आफ्नो खाता आफैँ व्यवस्थापन गर्ने विकल्प छनौट गर्न सक्नुहुन्छ।

अरूलाई सम्मान गर्नुहोस्

तपाईंका बच्चा हाम्रा अधिकांश सेवाहरू प्रयोग गरेर ती सेवाका अन्य प्रयोगकर्ताहरूसँग अन्तरक्रिया गर्न सक्नुहुन्छ। हामी सबैका लागि सौहार्दपूर्ण वातावरण कायम राख्न चाहन्छौँ। यसको अर्थ तपाईंका बच्चाले हाम्रा सेवा प्रयोग गर्दा अनिवार्य रूपमा आधारभूत आचारसंहिता पालना गर्नु पर्ने हुन्छ। उहाँले अरूलाई भ्रममा पारेर, ठगेर, मानहानि गरेर, दादागिरी देखाएर, शोषण गरेर, पिछा गरेर वा सार्वजनिक रूपमा घृणास्पद सामग्री - (जस्तै, मान्छेको मूल, जात, धर्म, लिङ्ग, यौन झुकाव जस्ता कुराका आधारमा घृणा वा भेदभाव गर्न उक्साउने सामग्री) वितरण गरेर अरू वा आफूलाई दुर्व्यवहार गर्ने वा हानि पुर्‍याउने (वा त्यस्तो प्रकारको दुर्व्यवहार गर्छु वा हानि पुर्‍याउँछु भनी धम्की दिने वा अरूलाई यी कार्य गर्न प्रोत्साहन गर्ने) लगायतका कार्य गर्नु हुँदैन। तपाईंका बच्चाले घृणास्पद सामग्री प्रकाशित गर्नुभयो भने तपाईं वा तपाईंका बच्चाले देवानी वा फौजदारी कानुनबमोजिम सजाय भोग्नु पर्ने हुन सक्छ।

तपाईंका बच्चाको गोपनीयता

तपाईं आफ्ना बच्चाका लागि Google खाता वा प्रोफाइल बनाइदिन चाहनुहुन्छ भने तपाईंले हामीलाई यो गोपनीयतासम्बन्धी सूचना र Google को गोपनीयता नीतिमा उल्लेख गरिएअनुसार आफ्ना बच्चाको जानकारी सङ्कलन, प्रयोग वा खुलासा गर्ने अनुमति दिनु पर्ने हुन सक्छ। तपाईंले आफ्ना बच्चालाई हाम्रा सेवाहरू प्रयोग गर्ने अनुमति दिनुभयो भने तपाईं र तपाईंका बच्चा हामीलाई आफ्नो जानकारी विश्वासका साथ दिँदै हुनुहुन्छ भन्ने अर्थ लाग्छ। हामी तपाईंहरूको यो विश्वासलाई एउटा महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिन्छौँ र तपाईंको जानकारी सुरक्षित राख्न र तपाईंका बच्चालाई नियन्त्रण गर्न तपाईंलाई मद्दत गर्छौँ। तपाईं आफ्ना बच्चाले वेब तथा एपसम्बन्धी गतिविधि र YouTube हिस्ट्रीलगायतका कुराहरूका हकमा गतिविधिसम्बन्धी सेटिङ व्यवस्थापन गर्न सक्ने वा नसक्ने विकल्प छनौट गर्न सक्नुहुन्छ।

१३ वर्षमुनिका बच्चाका Family Link मार्फत व्यवस्थापन गरिएका Google खाता तथा प्रोफाइलको यो गोपनीयतासम्बन्धी सूचनाGoogle को गोपनीयता नीतिमा Google को गोपनीयतासम्बन्धी अभ्यासहरूका बारेमा व्याख्या गरिएको छ। तपाईंका बच्चाको खाता वा प्रोफाइलका सम्बन्धमा पर्सनलाइज गरिएका विज्ञापनमा तोकिएका सीमालगायतका निश्चित गोपनीयतासम्बन्धी अभ्यासहरू लागू हुन सक्छन्। ती गोपनीयतासम्बन्धी अभ्यास र हाम्रो गोपनीयता नीतिका बिचमा रहेका फरक कुराहरू यो गोपनीयतासम्बन्धी सूचनामा उल्लेख गरिएका छन्।

यो गोपनीयतासम्बन्धी सूचना तपाईंका बच्चाले प्रयोग गर्न सक्ने कुनै पनि तेस्रो पक्षीय (Google बाहेकका) एप, कारबाही वा वेबसाइटहरूमा लागू हुँदैन। आफ्ना बच्चाका लागि तेस्रो पक्षीय एप, कारबाही र साइटहरू उपयुक्त छन् वा छैनन् भन्ने कुरा सुनिश्चित गर्न तपाईंले उहाँको डेटा सङ्कलन तथा प्रयोग गर्ने अभ्यासलगायतका लागू हुने सर्त तथा नीतिहरूको समीक्षा गर्नु पर्छ।

हामीले सङ्कलन गर्ने जानकारी

तपाईंले आफ्ना बच्चालाई Google खाता वा प्रोफाइल बनाउने अनुमति दिइसकेपछि हामी सामान्यतया तपाईंको खाता वा प्रोफाइलबाट सङ्कलन गरिए सरह नै उहाँको खाता वा प्रोफाइलबाट पनि जानकारी सङ्कलन गर्ने छौँ। उदाहरणका लागि, हामी निम्न जानकारी सङ्कलन गर्छौँ:

तपाईं र तपाईंका बच्चाले सिर्जना गर्ने वा हामीलाई उपलब्ध गराउने जानकारी।

खाता वा प्रोफाइल सिर्जना गर्ने प्रक्रियाको अंशका रूपमा हामी नाम तथा थर, इमेल ठेगाना र जन्म मिति जस्ता व्यक्तिगत जानकारी माग्न सक्छौँ। तपाईंको सहमति लिनका निम्ति हामी तपाईंलाई सम्पर्क गर्न आवश्यक पर्ने तपाईंको अनलाइन कन्ट्याक्टका विवरण जस्ता तपाईं वा तपाईंका बच्चाले उपलब्ध गराउने जानकारी सङ्कलन गर्छौँ। हामी तपाईंका बच्चाले Google Photos मा फोटो सेभ गर्ने वा Google Drive मा डकुमेन्ट बनाउनेलगायतका कार्यहरू गर्न आफ्नो खाता वा प्रोफाइल प्रयोग गर्दा उहाँले सिर्जना गर्ने, अपलोड गर्ने वा अरू मान्छेहरूबाट प्राप्त गर्ने जानकारी पनि सङ्कलन गर्छौँ।

तपाईंका बच्चाले हाम्रा सेवाहरू प्रयोग गर्दा हामीले प्राप्त गर्ने जानकारी।

हामी तपाईंका बच्चाले प्रयोग गर्ने सेवाहरू र उहाँले ती सेवाहरू प्रयोग गर्ने (जस्तै: Google Search वा Gemini मा क्वेरी हाल्ने, Google एसिस्टेन्टसँग कुरा गर्ने वा YouTube Kids मा भिडियो हेर्ने) तरिकासम्बन्धी निश्चित जानकारी स्वतः सङ्कलन तथा भण्डारण गर्छौँ। यो जानकारीमा निम्न कुराहरू पर्छन्:

  • तपाईंका बच्चाका एप, ब्राउजर तथा डिभाइसहरू

    हामी तपाईंका बच्चाले Google का सेवाहरू चलाउन प्रयोग गर्ने सहजै पहिचान गर्न सकिने आइडेन्टिफायर, ब्राउजरको प्रकार र सेटिङ, डिभाइसको प्रकार र सेटिङ, अपरेटिङ सिस्टम, सेवा प्रदायकको नाम र फोन नम्बरलगायत मोबाइल नेटवर्कको जानकारी तथा एपको संस्करण नम्बरलगायत एप, ब्राउजर तथा डिभाइसहरूको जानकारी सङ्कलन गर्छौँ। हामी IP ठेगाना, क्र्यास रिपोर्ट, सिस्टमले गर्ने क्रियाकलाप र तपाईंका बच्चाले अनुरोध गरेका मिति, समय र सिफारिसकर्ताको URL सहित तपाईंका बच्चाका एप, ब्राउजर र डिभाइसहरूले हाम्रा सेवाहरूसँग गर्ने अन्तर्क्रियासम्बन्धी जानकारी पनि सङ्कलन गर्छौँ। तपाईंका बच्चाको डिभाइसमा प्रयोग गरिएका Google का सेवाहरूले हाम्रा सर्भरहरूमा सम्पर्क गर्दा हामी यो जानकारी सङ्कलन गर्छौँ। उदाहरणका लागि, तपाईंका बच्चाले Play स्टोरबाट कुनै एप इन्स्टल गर्दा Google का सेवाहरूले हाम्रा सर्भरहरूमा सम्पर्क गर्छन्।

  • तपाईंका बच्चाले गर्ने क्रियाकलाप

    हामी तपाईंका बच्चाले हाम्रा सेवाहरूमा गर्ने क्रियाकलापसम्बन्धी जानकारी सङ्कलन गर्छौँ। यो जानकारी हामी तपाईंका बच्चाले Google Play मा मन पराउन सक्ने एपहरू सिफारिस गर्ने जस्ता काममा प्रयोग गर्छौँ। तपाईं आफ्ना बच्चालाई गतिविधिसम्बन्धी सेटिङ व्यवस्थापन गर्न दिने कि नदिने भन्ने विकल्प छनौट गर्न सक्नुहुन्छ। हामी तपाईंका बच्चाको खोज पद, उहाँले हेर्ने भिडियो, उहाँले अडियो सुविधा प्रयोग गर्दाको आवाज र अडियोसम्बन्धी जानकारी, उहाँले वार्तालाप वा कन्टेन्ट सेयर गर्ने व्यक्ति र उहाँले आफ्नो Google खातामा सिंक गर्नुभएको Chrome को ब्राउजिङ हिस्ट्री जस्ता क्रियाकलापसम्बन्धी जानकारी सङ्कलन गर्छौँ। तपाईंका बच्चाले कल गर्न र उठाउन वा म्यासेज पठाउन र प्राप्त गर्न Google Meet जस्ता हाम्रा सेवाहरू प्रयोग गरेका खण्डमा हामी उहाँको टेलिफोन लगसम्बन्धी जानकारी सङ्कलन गर्न सक्छौँ। तपाईंका बच्चा आफ्नो खाता वा प्रोफाइलमा सेभ गरिएका जानकारी खोज्न र व्यवस्थापन गर्न उहाँको Google खातामा जान सक्नुहुन्छ र तपाईं आफ्ना बच्चाको Google खातामा साइन इन गरेर वा Family Link मा भएको उहाँको प्रोफाइल प्रयोग गरेर उहाँको क्रियाकलापसम्बन्धी जानकारी व्यवस्थापन गर्न पनि सक्नुहुन्छ।

  • तपाईंका बच्चाको लोकेसनसम्बन्धी जानकारी

    तपाईंका बच्चाले हाम्रा सेवाहरू प्रयोग गर्दा हामी उहाँको जानकारी सङ्कलन गर्छौँ। तपाईंका बच्चाको लोकेसन GPS, IP ठेगाना, उहाँको डिभाइसको सेन्सर डेटा र Wi-Fi एक्सेस पोइन्ट, सेल टावर र ब्लुटुथ अन गरिएका डिभाइसहरू जस्ता उहाँको डिभाइस वरपरका वस्तु प्रयोग गरेर उहाँको जानकारी पहिचान गर्न सकिन्छ। हामीले सङ्कलन गर्ने लोकेसन डेटाका प्रकार केही हदसम्म तपाईंको डिभाइसका सेटिङ र तपाईंका बच्चाका डिभाइसका सेटिङमा निर्भर हुन्छन्।

  • तपाईंका बच्चाको आवाज र अडियोसम्बन्धी जानकारी

    हामी तपाईंका बच्चाको आवाज तथा अडियोसम्बन्धी जानकारी सङ्कलन गर्न सक्छौँ। उदाहरणका लागि, तपाईंका बच्चाले अडियो सुन्न थाल्ने निर्देशनहरू (जस्तै, “Ok Google” भनेर वा माइक्रोफोन जनाउने आइकन छोएर) प्रयोग गरेका खण्डमा उहाँले गरेको अनुरोधको जवाफ दिने प्रयोजनका लागि त्यसपछिको बोली/अडियोको रेकर्डिङ प्रोसेस गरिने छ। साथै, वेब तथा एपसम्बन्धी गतिविधिको सेटिङअन्तर्गत रहेको तपाईंका बच्चाको आवाज तथा अडियोसम्बन्धी गतिविधिको विकल्प मा चिन्ह लगाइएको छ भने उहाँले साइन इन गरिएको डिभाइसमार्फत सहायकसँग बोलेर अन्तरक्रिया गर्दा गरिएको रेकर्डिङ (साथै, त्यसभन्दा केही सेकेन्डअघिका रेकर्डिङ) उहाँको खातामा भण्डारण गरिन सक्छ।

हामी कुकी, पिक्सेल ट्यागका साथै ब्राउजरको वेब स्टोरेज वा एपसम्बन्धी डेटाको क्यासलगायत लोकल स्टोरेज, डेटाबेस र सर्भरका लगहरू जस्ता तपाईंका बच्चाका जानकारी सङ्कलन र भण्डारण गर्न विभिन्न प्रविधिहरू प्रयोग गर्छौँ। तपाईंका बच्चाले यी खाता वा प्रोफाइलहरूमा उपलब्ध Google का उत्पादन र सेवाहरू प्रयोग गर्न आवश्यक पर्ने जानकारीबाहेक थप व्यक्तिगत जानकारी प्रदान गर्नु पर्दैन।

हामीले सङ्कलन गर्ने जानकारी प्रयोग गर्ने हाम्रो तरिका

Google को गोपनीयता नीतिमा हामी Google ले सङ्कलन गर्ने तपाईंका बच्चाको Google खाता वा प्रोफाइलसँग सम्बद्ध डेटा कसरी प्रयोग गर्न सक्छौँ भन्ने कुरा विस्तृत रूपमा व्याख्या गरिएको छ। सामान्यतया, हामी तपाईंका बच्चाको जानकारी निम्न उद्देश्यका लागि प्रयोग गर्छौँ: हाम्रा सेवाहरू प्रदान गर्न, कायम राख्न र सुधार गर्न; नयाँ सेवाहरू विकास गर्न; तपाईंका बच्चाका लागि हाम्रा सेवाहरू कस्टमाइज गर्न; हाम्रा सेवाहरूको पर्फर्मेन्स मापन गर्न र ती सेवाहरू कसरी प्रयोग गरिन्छन् भन्ने कुरा बुझ्न; हाम्रा सेवाहरूका सम्बन्धमा तपाईंका बच्चासँग सीधै कुराकानी गर्न र हाम्रा सेवाहरूको सुरक्षा र विश्वसनीयता सुधार्ने कार्यमा मद्दत गर्न।

हामी यी उद्देश्यहरूका लागि तपाईंका बच्चाको जानकारी प्रोसेस गर्न विभिन्न प्रविधि प्रयोग गर्छौँ। तपाईंका बच्चालाई कस्टमाइज गरिएका खोज परिणाम वा उहाँले हाम्रा सेवाहरू प्रयोग गर्ने तरिकाका आधारमा तयार गरिएका अन्य सुविधाहरू प्रदान गर्न हामी तपाईंका बच्चाको कन्टेन्ट वा उहाँले गरेका अन्तर्क्रियाहरूको विश्लेषण गर्ने स्वचालित प्रणालीहरू प्रयोग गर्छौँ। साथै, हामी स्प्याम, मालवेयर र अवैध कन्टेन्ट जस्ता दुरुपयोग पत्ता लगाउन सकौँ भन्नाका लागि तपाईंको बच्चाका कन्टेन्टको विश्लेषण गर्छौँ। डेटाका नमूनाहरू पहिचान गर्नका निम्ति हामी एल्गोरिदमहरू पनि प्रयोग गर्छौँ। हामीले हाम्रा सिस्टमहरूमा स्प्याम, मालवेयर, अवैध कन्टेन्ट र हाम्रा नीतिहरूको उल्लङ्घन गर्ने अन्य प्रकारका दुरुपयोग पत्ता लगायौँ भने हामी यस्ता कार्य गर्ने व्यक्तिका खाता तथा प्रोफाइल बन्द गर्न वा अन्य उचित कारबाही गर्न सक्छौँ। हामी निश्चित परिस्थितिहरूमा उल्लङ्घनका बारेमा सम्बन्धित निकायहरूमा रिपोर्ट पनि गर्न सक्छौँ।

हामी तपाईंका बच्चाका सेटिङका आधारमा सिफारिस, पर्सनलाइज गरिएको सामग्री र कस्टमाइज गरिएका खोज परिणामहरू प्रदान गर्न तपाईंका बच्चाको जानकारी प्रयोग गर्न सक्छौँ। उदाहरणका लागि, तपाईंका बच्चाका सेटिङका आधारमा Google Play ले तपाईंका बच्चालाई मन पर्न सक्ने नयाँ एप सिफारिस गर्न उनले इन्स्टल गरेका एपहरू जस्ता जानकारी प्रयोग गर्न सक्छ।

यसका अतिरिक्त, हामी तपाईंका बच्चाका सेटिङका आधारमा माथि उल्लेख गरिएका उद्देश्यका लागि हामीले सङ्कलन गर्ने हाम्रा सेवा र तपाईंका बच्चाका डिभाइससम्बन्धी सबै जानकारी संयोजन पनि गर्न सक्छौँ। तपाईंका बच्चाको खाता वा प्रोफाइलसम्बन्धी सेटिङका आधारमा, Google का सेवाहरू सुधार गर्ने प्रयोजनका लागि उनले अन्य साइट तथा एपहरूमा गर्ने क्रियाकलाप उनको व्यक्तिगत जानकारीसँग सम्बद्ध गरिन सक्छ।

Google ले नाबालिगहरूलाई पर्सनलाइज गरिएका विज्ञापन देखाउने अनुमति दिँदैन। यसको अर्थ विज्ञापनहरू तपाईंका बच्चाको खाता वा प्रोफाइलमा भएको जानकारीमा आधारित हुने छैनन्। यसको साटो विज्ञापनहरू तपाईंका बच्चाले हेर्दै गरेको वेबसाइट वा एपमा भएको सामग्री, उहाँले खोज्नुभएको कुरा वा सामान्य लोकेसन (जस्तै, सहर वा राज्य) जस्ता जानकारीमा आधारित हुन सक्छन्। वेब ब्राउज गर्दा वा Google बाहिर निर्मित एपहरू प्रयोग गर्दा तपाईंका बच्चा Google बाहेकका अन्य विज्ञापन सेवा प्रदायकले देखाएका विज्ञापनका साथै तेस्रा पक्षले पर्सनलाइज गरेका विज्ञापनहरू देख्न सक्नुहुन्छ।

तपाईंका बच्चाले सेयर गर्न सक्ने जानकारी

तपाईंका बच्चा आफ्नो Google खाता वा प्रोफाइलमा साइन इन भएका बेला उहाँ फोटो, भिडियो, अडियो र लोकेसनलगायतका जानकारी सार्वजनिक रूपमा र अन्य मान्छेहरूसँग सेयर गर्न सक्छन्। तपाईंका बच्चाले आफ्नो जानकारी सार्वजनिक रूपमा सेयर गर्दा उक्त जानकारी Google खोज जस्ता सर्च इन्जिनहरू प्रयोग गरी भेट्टाउन सकिन्छ।

Google ले सेयर गर्ने जानकारी

हामीले सङ्कलन गर्ने जानकारी सीमित परिस्थितिमा Google बाहिर सेयर गरिन सक्छ। निम्न परिस्थितिहरूमा बाहेक हामी व्यक्तिगत जानकारी Google बाहिरका कम्पनी, संस्था तथा व्यक्तिहरूसँग सेयर गर्दैनौँ:

सहमति लिएर

हामी सम्बन्धित व्यक्तिको सहमति लिएर (लागू हुने हदसम्म) Google भन्दा बाहिरका पक्षहरूसँग व्यक्तिगत जानकारी सेयर गर्ने छाैँ।

तपाईंको पारिवारिक समूहसँग

तपाईंका बच्चाको नाम, फोटो, इमेल ठेगाना र उहाँले Play मा गरेका खरिदहरूलगायतका जानकारी Google मा तपाईंको पारिवारिक समूहका सदस्यहरूसँग सेयर गरिन सक्छ।

बाह्य प्रयोगका लागि

हाम्रा निर्देशनहरूका आधारमा र यो गोपनीयता सूचना Google को गोपनीयता नीति र कुनै अन्य उपयुक्त गोपनीयता र सुरक्षाका उपायहरूको पालना हुने गरी हाम्रा सहयोगी, अन्य विश्वसनीय व्यावसायिक प्रतिष्ठान वा मान्छेहरूलाई हाम्रो तर्फबाट कारबाही अघि बढाउनका निम्ति हामी व्यक्तिगत जानकारी प्रदान गर्छौँ।

कानुनी प्रयोजनका लागि

हामीलाई निम्न प्रयोजनका लागि जानकारी प्राप्त गर्न, प्रयोग गर्न, सुरक्षित राख्न वा खुलासा गर्न आवश्यक छ जस्तो लागेका खण्डमा हामी Google बाहिरका कम्पनी, सङ्गठन वा व्यक्तिहरूसँग व्यक्तिगत जानकारी सेयर गर्ने छौँ:

  • कुनै पनि प्रचलित कानुन, नियम, कानुनी प्रक्रिया वा लागू हुने सरकारी अनुरोधको पालना गर्न;

  • उल्लङ्घनका सम्भावित घटनाहरूको छानबिनलगायत प्रचलित सेवाका सर्तहरू लागू गर्न;

  • ठगी, सुरक्षा वा प्राविधिक समस्याहरू पत्ता लगाउन, रोक्न वा अन्य तरिकाले त्यसको सम्बोधन गर्न;

  • कानुनले निर्देशन वा अनुमति दिएबमोजिम Google, हाम्रा प्रयोगकर्ता वा सर्वसाधारणको अधिकार, सम्पत्ति वा सुरक्षामा हुने हानिबाट जोगाउन।

हामी व्यक्तिगत पहिचान नखुलाउने जानकारी (जस्तै हाम्रा सेवाको सामान्य प्रयोगसम्बन्धी प्रवृत्तिहरू) सार्वजनिक रूपमा तथा प्रकाशक, विज्ञापनदाता, विकासकर्ता वा अधिकारवाहक जस्ता हाम्रा साझेदारहरूसँग पनि सेयर गर्न सक्छौँ। उदाहरणका लागि, हाम्रा सेवाहरूको सामान्य प्रयोगसम्बन्धी प्रवृत्तिहरू देखाउनका निम्ति हामी यो जानकारी सार्वजनिक रूपमा सेयर गर्छौँ। हामी विशिष्ट साझेदारहरूलाई कुकी वा उस्तै प्रविधिहरू प्रयोग गरेर ब्राउजर वा डिभाइसहरूबाट विज्ञापन र मापनका लागि जानकारी सङ्कलन गर्न पनि अनुमति दिन्छौँ।

बच्चाको व्यक्तिगत जानकारी हेर्ने र प्रयोग गर्ने तरिका

तपाईंका बच्चाको Google खाता छ भने तपाईं आफ्ना बच्चाको Google खातामा साइन इन गरेर उहाँको जानकारी प्राप्त गर्न, सम्पादन गर्न, हटाउन, एक्स्पोर्ट गर्न र सो जानकारीको प्रक्रिया रोक्न सक्नुहुन्छ। तपाईंले आफ्ना बच्चाको पासवर्ड बिर्सनुभयो भने तपाईं Family Link एप वा वेबमार्फत Family Link सम्बन्धी सेटिङ प्रयोग गरी उक्त पासवर्ड रिसेट गर्न सक्नुहुन्छ। साइन इन गरिसकेपछि आफ्ना बच्चाका गोपनीयतासम्बन्धी सेटिङ र जानकारी व्यवस्थापन गर्न मद्दत गर्नका निम्ति तपाईं Google का गतिविधिसम्बन्धी सेटिङ जस्ता Google को गोपनीयता नीति मा उल्लेख गरिएका विभिन्न सेटिङ प्रयोग गर्न सक्नुहुन्छ।

तपाईंका बच्चाको Google खाता छ भने तपाईं Family Link एप वा वेबमार्फत Family Link सम्बन्धी सेटिङ प्रयोग गरी आफ्ना बच्चाको जानकारी प्राप्त गर्न, सम्पादन गर्न, हटाउन, एक्स्पोर्ट गर्न र सो जानकारीको प्रक्रिया रोक्न सक्नुहुन्छ।

तपाईंका बच्चा “मेरा गतिविधि” मा गई आफ्ना विगतका गतिविधि मेटाउन र डिफल्ट रूपमा तेस्रो पक्षहरूलाई एपसम्बन्धी अनुमति (डिभाइसको लोकेसन, माइक्रोफोन वा कन्ट्याक्टलगायतका कुराहरू) दिन सक्ने छन्। तपाईंका बच्चाको Google खाता वा प्रोफाइलसम्बन्धी जानकारी परिवर्तन गर्न वा परिमार्जन गर्न, एपसम्बन्धी गतिविधि र एपसम्बन्धी अनुमतिको समीक्षा गर्न र तपाईंका बच्चालाई उहाँको जानकारी प्रयोग गर्ने एप वा तेस्रो पक्षीय सेवाहरूमा निश्चित अनुमति दिन सक्ने सेटिङ मिलाउनका निम्ति तपाईं Family Link प्रयोग गर्न पनि सक्नुहुन्छ।

तपाईंले जुनसुकै बेला आफ्ना बच्चाको खातासम्बन्धी जानकारी सङ्कलन गर्ने वा प्रयोग गर्ने कार्य अबदेखि नगरियोस् भन्ने चाहनुभएका खण्डमा तपाईं Family Link एप वा वेबमार्फत Family Link सम्बन्धी सेटिङ प्रयोग गरी आफ्ना बच्चाको खाता वा व्यक्तिगत जानकारी पेजमा गई "खाता मेटाउनुहोस्" वा "प्रोफाइल मेटाउनुहोस्" नामक बटनमा क्लिक गरेर उनको Google खाता वा प्रोफाइल मेटाउन सक्नुहुन्छ। तपाईंका बच्चाको खाता वा प्रोफाइलसम्बन्धी जानकारी तोकिएको समयावधिभित्र सदाका लागि मेटाइने छ।

हामीलाई सम्पर्क गर्नुहोस्

तपाईंसँग आफ्ना बच्चाको Google खाता वा प्रोफाइलसम्बन्धी कुनै पनि प्रश्न छ भने हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्। हामी मद्दत गर्न तत्पर छौँ। तपाईं हाम्रो मद्दत केन्द्र मा गई Family Link र आफ्ना बच्चाको Google खाता वा प्रोफाइलका बारेमा अतिरिक्त जानकारी भेट्टाउन सक्नुहुन्छ। तपाईं मेनु ☰ > मद्दत र प्रतिक्रिया > प्रतिक्रिया पठाउनुहोस् नामक विकल्पमा ट्याप गरेर वा हामीलाई इमेलमार्फत सम्पर्क गरेर वा तलको ठेगानामा पत्राचार गरेर पनि Family Link वा Family Link एपमा प्रयोग गरिएको आफ्ना बच्चाको Google खाता वा प्रोफाइलका सम्बन्धमा प्रतिक्रिया पठाउन सक्नुहुन्छ।

Google
1600 Amphitheatre Parkway
Mountain View, CA 94043 USA
फोन नम्बर: +१ ८५५ ६९६ ११३१ (सं. रा. अमेरिका)
अन्य देशका फोन नम्बर प्राप्त गर्न g.co/FamilyLink/Contact मा जानुहोस्

तपाईंसँग Google ले तपाईंका बच्चाको डेटा कसरी सङ्कलन र प्रयोग गर्छ भन्ने कुरासम्बन्धी प्रश्नहरू छन् भने तपाईं Google को र हाम्रो डेटा संरक्षण कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ। तपाईंसँग स्थानीय कानुनअन्तर्गत आफ्नो अधिकारसम्बन्धी जिज्ञासा छ भने तपाईं आफ्नो स्थानीय डेटा संरक्षण प्राधिकरणमा सम्पर्क गर्न पनि सक्नुहुन्छ।

१३ वर्ष (वा तपाईंको देशको कानुनले तोकेको उमेर) मुनिका बालबालिकाका निम्ति Family Link डिस्क्लोजर हेर्नुहोस्

Google एपहरू
मुख्य मेनु